काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान संशोधनमा ढिलाइ गर्न नहुने बताएका छन् । शनिबार टोखास्थित वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको साधारण सभालाई सम्बोधन गर्ने क्रममा उनले संविधान संशोधनमा ढिलाइ गर्न नहुने बताएका हुन् ।
‘सरकारले तीनवटा कुरा, खासगरी संविधान पुनरावलोकन, संशोधन गर्ने कुरा गरेको छ । यसमा अब ढिलाइ नगरौँ,’ सभापति शेरबहादुर देउवा पनि सहभागी साधारण सभामा कोइरालाले भने, ‘जति ढिलाइ हुन्छ, त्यति सडक आक्रोशित हुन्छ ।’
उनले कांग्रेस सत्तामा भए पनि सरकारमा नभएको टिप्पणी गरे । ‘हामी सत्तामा छौँ तर, सरकारमा छैनौँ,’ कोइरालाले भने, ‘किन भने हाम्रो प्रतिस्पर्धी कुनै पनि ठाउँमा एमाले हुन्छ ।’
नेता कोइरालाले सरकारले गलत नगरोस् भनेर आफूहरूले खबरदारी गरिरहेको पनि बताए । सरकारलाई खबरदारी नगरिए कांग्रेसलाई अप्ठ्यारो पर्न सक्ने उनको तर्क थियो ।
‘हामी अहिले एमालेसँग सहकार्य गरेर अगाडि बढिरहेका छौँ । त्यसैले कहीँ यो सरकार गलत गरिरहेको छ कि भनेर हामीले खबरदारी गरिराख्नुपर्छ,’ कोइरालाले भने, ‘हामीले खबरदारी गरेनौंँ भने कांग्रेसलाई अफ्ठ्यारो पर्न सक्छ ।’