काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इतिहासलाई धकेल्न चाहनेले पछिल्लो समय ‘१७ हजारको हत्यारा’ भनेर हल्ला चलाइरहँदा पार्टी पंक्तिबाट त्यसको खण्डन नभएको भन्दै गुनासो गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफूले एक जना मान्छेलाई पिटेको समेत नभएको जिकिर गरे ।
‘एकथरी मानिसहरू इतिहासलाई पछाडि धकेल्न चाहनेले १७ हजारको हत्यारा भनिरहँदा होइन यो त युद्धको नियम अनुसार युद्धमा भएको कुरा हो । राज्यपक्ष र विद्रोहीले कति गर्यो भन्ने कुरा अध्ययन गर्न सकिन्छ । आजभोलि त प्रचण्डले भन्न थालिएको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘मैले एक जनालाई पिटेको पनि छैन अहिलेसम्म । हत्याको त कुरै छाडौं व्यक्तिको कुरा गर्ने हो भने । युद्धको नेतृत्व मैले गरेको हो शान्तिमा आएपछि सबै कुराको जिम्मा लिन्छु भनेकै छु । तर, यति धेरै गलत आरोप लागिराख्दा बुद्धिजीविबाट यसमा खण्डन भएको देखिँदैन ।’