काठमाडौं । पर्साको वीरगन्जमा देखिएको तनाव व्यवस्थापन गर्न राजनीतिक दलको सर्वदलीय बैठक बोलाइएको छ । जिल्लामा उपलब्ध दलका नेताहरू बैठकमा सहभागी हुनेछन् ।
सर्वदलीय बैठकले कर्फ्यु मध्याह्न १२ बजेपछि हटाउने अथवा थप्ने निर्णय गर्नेछ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार अहिले अवस्था सामान्य रहेको छ । हनुमान जन्मोत्सवका अवसरमा शनिबार वीरगन्जमा निकालिएको शोभायात्रामा कसैले ढुंगा हानेपछि दुईपक्षबीच झडप भएको थियो ।
झडपले वीरगन्ज क्षेत्र तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले आइतबार मध्याह्न १२ बजेसम्म लागु हुने गरी कर्फ्यु आदेश जारी गरेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा, अश्रुग्यास प्रहार र हवाईफायर समेत गरेको थियो । झडपमा ३७ जना घाइते भएका थिए भने केहि पसलहर तोडफोड गरिएको छ ।