काठमाडौँ । प्री मनसुन सक्रिय भएसँगै चट्याङले मानिसको ज्यान लिनेक्रम बढेको छ । चैत २७ यता देशका विभिन्न स्थानमा वर्षासँगै परेको चट्याङले आठ जनाको ज्यान लिइसकेको छ । पछिल्लो तीन दिनभित्र २८ जना घाइते भएका छन् ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार यस वर्ष वैशाखदेखि चैतसम्ममा ७८ जनाको मृत्यु चट्याङकै कारण भएको छ । यो एक वर्षमा चट्याङबाट घाइते हुनेको सङ्ख्या ३०९ पुगेको छ । चट्याङले हालसम्म ५५६ घरपरिवार प्रभावित भएका छन् । जसबाट करिब एक करोड ४३ लाख रुपियाँबराबरको क्षति भएको प्राधिकरणले जनाएको छ ।
चट्याङबाट आमनागरिकको जीवनरक्षाका लागि प्राधिकरणले सचेतना अभिवृद्धिको पहल गरिरहेको केसीले जानकारी दिए । बदलिँदो मौसममा चट्याङबाट तत्काल थप सतर्क बनाउँदै पूर्वसूचना दिने उद्देश्यले ‘सतर्क’ नामको पूर्वसूचना कार्यक्रम अघि सारिएको छ ।
मौसमविद् प्रतिभा मानन्धरका अनुसार प्री मनसुनमा वायुमण्डलमा बादलको घनत्व घटबढ तथा उतारचढाव हुँदा चट्याङ पर्ने वातावरण बन्छ । त्यसैले वर्षा हुने वातावरण बनेपछि बाहिर ननिस्कने, यात्रा नगर्ने, खेतबारीमा काम नगर्ने जस्ता सावधानी अपनाउनुपर्ने उनको सुझाव छ ।
घरभित्रै बस्ने, यात्रामा भए गाडीमै बस्ने र खुला आकाशमुनि भएमा हातले टाउको छोपेर घुँडा टेकेर बस्नुपर्ने सुझाव उहाँले दिनुभयो । रुख तथा बिजुलीको पोलमुनि कदापि बस्न नहुने उनले बताए । घरभित्रै पनि बिजुलीका काम बन्द गर्ने, मोबाइल, टेलिभिजन आदि नचलाउने, बत्ती तथा इन्टरनेट बन्द गर्नु पर्छ । झ्याल तथा ढोकामा उभिएर बाहिर नहेर्ने र मोबाइलले बाहिरका फोटो खिच्ने काम पनि नगर्न मौसमविद्हरू बताउँछन् ।
प्री मनसुनको समयमा नेपाल, भारत, बङ्गलादेश र भुटानसहितका दक्षिण एयिसाली देशमा बढी चट्याङ पर्ने गरेको छ । विगत केही दिनमा भारतमा मात्र चट्याङ लागेर ६० जनाको मृत्यु भएको थियो ।