वीरगन्जमा । वीरगन्जमा हिजोदेखि लगाइएको कर्फ्यु १२ घण्टा लम्बिएको छ । दुई समुदायबिच उत्पन्न विवाद उग्र हुँदै गएपछि जिल्ला प्रशासन कार्यालयले हिजो साँझ साढे ६ बजेदेखि आइतबार मध्याह्न १२ बजेसम्मको लागि कर्फ्यु लगाएको थियो ।
तर अवस्था अझ सामान्य नरहेको र सर्वदलीय बैठकमा कर्फ्युलाई निरन्तरता राख्ने भनि आएको सुझावअनुसार समय राति १२ बजेसम्मलाई बढाइएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।
यस्तै सर्वदलीय बैठकले ३ बुँदे प्रतिबद्धता जनाएको छ ।जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सो बैठकमा दलका प्रतिनिधिहरूले सबै धर्म एवम् सम्प्रदाय सम्बद्ध सङ्घ संस्थाहरू विविधताबिचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सदभावलाई संरक्षण एवम् प्रवर्द्धन गर्ने हिसाबले समतामूलक समाजको निर्माणमा अगाडि बढ्ने राष्ट्रको मर्म रहेअनुसार शान्ति, अमनचयनमा खलल हुने किसिमका धार्मिक एवम् सामुदायिक प्रकारका र्याली, बन्द आदि कार्यक्रम एवम् गतिविधिहरू कुनै पनि सङ्घ संस्था एवम् समुदायले नगर्ने प्रतिबद्धतासहित सद्भाव कायम गर्न सबैमा अपिल गरेका छन् ।
उनीहरूले झडपका क्रममा घाइते भएकाहरूको स्वास्थ्य लाभको कामना गर्दै उपचार राज्यको तर्फबाट गर्नुपर्ने माग समेत गरेका छन् । हनुमान जयन्ती मनाउन निकालिएको शोभा यात्राको क्रममा विवाद उत्पन्न गर्ने कार्यमा संलग्न जो सुकै भए पनि निजहरूलाई कानुनको दायरमा ल्याई कडा कारबाही गर्न समेत उनीहरूले माग गरेका छन् ।
