चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षमा नयाँ सरकार बन्ने संकेत गरेका छन् । आइतबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यो सरकार धेरै अगाडि जान सहज नभएको बताए।
नयाँ वर्षमा नयाँ सरकारको सम्भावनाबारे पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा देखिइराख्या छ । त्यसकारण कुनैपनि सम्भावना छ ।’
वर्तमान सरकारप्रति जनआक्रोश बढेको र सरकारमा रहेका दलहरु पनि सडक रहेको दाबी गर्दै प्रचण्डले भने, ‘नयाँ वर्षले केही न केही निकासचाहिँ लिएर आउँछ भन्ने मलाई लाग्छ ।’
एक टेलिभिजन अन्तर्वार्तामा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्नसक्ने संकेत गरेका थिए । तर, त्यसबारे उनले थप प्रष्ट्याउन चाहेनन् । आफूले पहिलेदेखि नै यही कुरा गरेको र अहिले नयाँ घटनाक्रम विकसित भएको बताउँदै अब देश त्यतैतिर जाने भन्दै प्रचण्डले भने, ‘पछिल्लोपटक घटनाक्रमहरु नयाँ भए । केही नयाँ अनुभवसहित भनेको हो मैले । केही नयाँ कुराको आधारमा मैले त्यो कुरा भनेको हो । मलाई लाग्छ, त्यही दिशातिर देश जान्छ ।’ यद्दपि, सरकारमा जानेबारे माओवादी केन्द्रले ध्यान नदिएको उनले दावी गरे ।