काठमाडौं । फेसबुक लगायतका विदेशी सामाजिक सञ्जाल प्लेटफर्महरूले नेपालमा दर्ता हुनका लागि सरकारले गरेको आह्वानलाई बेवास्ता गरेको पाईको छ ।फेसबुकको मातृ कम्पनी मेटा र ट्विटरलाई सञ्चार मन्त्रालयले दुईपटक पत्र पठाइसके पनि जवाफ नआएको अधिकारीहरूले बताए ।
शुक्रवार रुपन्देहीमा आयोजित एक कार्यक्रममा बोल्दै सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले चैत मसान्तभित्र दर्ता हुन नआएमा नेपालमा फेसबुक बन्द गरिदिने चेतावनी दिएका थिए ।
मन्त्री गुरुङले आजसम्मको म्याद दिए पनि मन्त्रालयले तत्काल बन्द गर्ने तयारी गरेको छैन । खासमा दर्ताको लागि दिइएको म्याद एक हप्ता बाँकी छ । पछिल्लो पटक चैत ७ गते सूचना निकालेर ३० दिनभित्र दर्ता हुन भनिएको थियो । त्यसैले सरकारले दिएको म्याद नै वैशाख ७ सम्म हो ।