वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार मध्यरातदेखि वीरगञ्ज महानगर क्षेत्रमा जारी गरिएको कर्फ्यू हटाएको छ।पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार राति १२ बजेदेखि कर्फ्यू हटाइएको जानकारी दिए ।
तर, अवस्था पूर्णरूपमा सामान्य नभएको भन्दै वीरगञ्ज महानगर पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सियापुल, उत्तरतर्फ गण्डक चोक र दक्षिणतर्फ शङ्कराचार्य गेटसम्मका क्षेत्रभित्र आज सोमबारदेखि १ गतेदेखि अर्को आदेश नभएसम्म कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) अनुसार निषेधाज्ञा आदेश जारी गरिएको छ।
प्रजिअ अर्यालले निषेधाज्ञा आदेशको उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई कानुनअनुसार कारबाही गरिने स्पष्ट पारेका छन्। शनिबार बेलुका वीरगञ्जमा दुई समूहबीच झडप भएपछि सोही दिन बेलुका ६:३० बजेदेखि कर्फ्यू आदेश जारी गरिएको थियो।