काठमाडौँ । धनगढी एफसी र ललितपुर सिटी एफसी तेस्रो नेपाल सुपर लिग (एनएसएल) को पहिलो क्वालिफायरमा पुगेका छन् ।
दुई पटकको फाइनलिष्ट धनगढी एफसीले तेस्रो जित निकाल्ने क्रममा आज झापा एफसीलाई १-० ले हराउँदै धनगढी एक खेल अगाडि नै पहिलो क्वालिफायरमा प्रवेश गर्न सफल भएको छ। पहिलो क्वालिफायरमा ललितपुर र धनगढीले खेल्ने पनि निश्चित भएको छ।
धनगढीको जितमा अहमद हिजाजीले एक मात्र निर्णायक गोल गरे। झापाले भने गोल गर्ने मौका सिर्जना गरेपनि गोल गर्न सकेन्। यो हारले झापाको प्ले अफको यात्रा गणितीय आधारमा मात्र बाँकी छ।
अपराजित धनगढीले पाँच खेलमा तीन जित र दुुई बराबरीमा ११ अंक बनाएको छ। पाँच खेल खेलेको झापासँग ४ अंक रहेको छ। यसअघि लगातार चार खेल बराबरी गरेको झापाको यो पहिलो हार हो। अब धनगढीले लिग चरणको अन्तिम खेलमा चितवन एफसीसँग र झापाले भने अन्तिम खेलमा ललितपुर सिटी एफसीको सामना गर्नेछ। भोलि बुटवल लुम्बिनी र पोखरा थन्डर्सबीच खेल हुनेछ।