काठमाडौँ । अष्ट्रेलियामा ‘चितवन सिड्नी बोइज’ नामक सामाजिक संस्था गठन गरिएको छ। अध्ययनका लागि आएका नेपाली विद्यार्थीको मनो–स्वास्थ्य र सामाजिक समस्यालाई सम्बोधन गर्ने उद्देश्यसहित सो सामाजिक संस्था गठन गरिएको हो।
संस्थाको अध्यक्षमा निशान पौडेल,उपाध्यक्षमा सागर प्रसाई,सचिवमा शेखर बस्नेत र कोषाध्यक्षमा सुजन बानिया रहेका छन् । यस्तै अहिलेसम्म ८० भन्दा बढी सदस्य आबद्ध भइसकेका छन्। प्रमुख सल्लाहकारमा सक्षम सुवेदी, प्रतिरोध प्रसाई, विश्व सुवेदी, हेमन्त लामीछाने, जयन थापा, सुदीप सुनार, किस्मत,जेनिथ खड्का लगायत युवाहरूको सक्रिय सहभागिता देखिएको छ।
संस्थाले अष्ट्रेलियामा रहेका चितवनका सबै युवालाई एक ठाउँमा ल्याउने प्रयासस्वरूप आबद्ध हुन अध्यक्ष पौडेलले आह्वान गरेका छन् ।
हालै मात्र औपचारिक रूपमा दर्ता भई सेवा आरम्भ गरिएको संस्थाले विशेषगरी चितवन जिल्लाबाट अष्ट्रेलिया आएका युवा–युवतीहरूलाई एक आपसमा जोड्ने र आवश्यकताअनुसार सहयोग पुर्याउने अभियान थालेको छ।
विद्यार्थी जीवनमा भोगिने मानसिक दबाव, संस्कृतिगत अन्तर, एक्लोपनजस्ता विषयमा छलफल गर्न सकिने वातावरण बनाउने तथा मेन्टल हेल्थ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने संस्थाको प्राथमिक उद्देश्य रहेको छ।