काठमाडौँ । नेपाल राष्ट्र बैंकको १८औँ गभर्नर डा. गुणाकर भट्टलाई बनाउन सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति जुटेको हो। लामो र स्साकस्सीपछि सत्ता गठबन्धनका प्रमुख दल नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नरको नाममा सहमति गरेका छन्।
हाल नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक रहेका भट्टले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। कांग्रेस सभापति देउवाको प्रस्तावमा भट्ट गभर्नरमा नियुक्त हुन लागेका हुन् । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकअघि प्रधानमन्त्री ओली र सभापति देउवाबीचको छलफलमा भट्टलाई गभर्नर बनाउने सहमति जुटेको हो ।
यद्यपि, भट्टसहित तीन जनाको नाम अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मन्त्रिपरिषद्मा पेस गरेपछि गभर्नर नियुक्तिको औपचारिक निर्णय हुनेछ। सम्भवतः सोमबार मन्त्रिपरिषद्को बैठकमा अर्थमन्त्रीले गभर्नरका लागि तीन जनाको नाम प्रस्ताव गर्नेछन्। र, सोही बैठकले भट्टलाई नियुक्त गर्ने सम्भावना देखिन्छ ।
गभर्नर बन्ने पक्का भएपछि भट्टले मन्त्रिपरिषदमा नाम जानुअघि राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा गर्न सक्नेछन्। यता सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले बुधबार दिउँसो गभर्नरमा सहमति जुटेको र छिट्टै बस्ने मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गर्ने बताएका थिए।
प्रधानमन्त्री ओलीले हाल कायममुकायम गभर्नरको भूमिकामा रहेकी डेपुटी गभर्नर नीलम ढुंगानालाई नै गभर्नर बनाउन जोडबल गरेका थिए। नेताहरूका अनुसार, ओलीले ‘नीलम ढुंगाना पनि तपाईँहरूकै (डेमोक्र्याट) हो, महिला र डेपुटी गभर्नर पनि भएकाले विवाद पनि हुँदैन’ भनेर आश्वस्त पार्ने प्रयास गरेका थिए। तर, देउवा त्यसमा तयार हुन सकेनन् ।