काठमाडौँ । निजी सैलुनमा गर्मी भएपछि एसी र इन्भर जडान गरिदिन माग गर्दै एक सञ्चालक हेटौँडा उपमहानगरमा पुगेको खबर अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेको छ ।
हेटौँडा उपमहानगरपालिका ४ मा सञ्चालित द नाइन्टिन सैलुनका सञ्चालक सुसन घलान अब गर्मीको महिना सुरु भएको र आफ्नो सैलुनमा ग्राहकको भिड बढेको भन्दै एसी र इन्भटर जोडिदिन भन्दै हेटौँडा उपमहानगरमा निवेदन दिएका हुन्। घलानले दिएको उक्त निवेदनमा उपमहानगरले पनि निवेदकको माग बमोजिम माग भएको सामानको लागत अनुमान तयार गरी दिनु भन्ने तोक लगाएको छ ।
त्यसपछि उक्त पत्र सामाजिक सञ्जालमा एकाएक भाइरल भएको हो । एक महिना अघि उक्त सैलुनको हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना लामाले उद्घाटन गरेकी थिइन् । सोही दिन मेयर लामाले यहाँ गर्मी रहेको र एसी जडानको लागि उपमहानगरपालिकाको तर्फबाट सहयोग गर्ने वाचा गरेको र सोही अनुसार निवेदन दिएको घलानले बताए।
सामाजिक सञ्जाल प्रयोगकर्ताले एउटा निजी व्यवसायलाई एसी दिने गरी तोक लगाउनु सुशासनको खिलाफ भन्ने आशयले तर्क गरिरहेका छन् । लामा समर्थक कतिपयले भने युवाहरूले सुरु गरेको व्यवसायलाई स्थानीय सरकारले प्रोत्साहन गरेको टिप्पणी गरेका छन् । यो विषयमा उपमहानगरले भने अहिलेसम्म आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
