काठमाडौँ । नेपाल राष्ट्र बैंकको १८औँ गभर्नर डा. गुणाकर भट्टलाई बनाउन सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति जुटेको हो। सम्भवतः सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकमा अर्थमन्त्रीले गभर्नरका लागि तीन जनाको नाम प्रस्ताव गर्नेछन्। र, सोही बैठकले भट्टलाई नियुक्त गर्ने सम्भावना देखिन्छ ।
सुदूरपश्चिम प्रदेशको डोटी जिल्लाको शिखर नगरपालिका वडा नं.१ मा घर भएका डा. भट्ट राष्ट्र बैङ्कका कार्यकारी निर्देशक हुन्। उनी विगत २५ वर्ष देखि नेपाल राष्ट्र बैङ्कमा कार्यरत छन् ।
हाल आर्थिक अनुसन्धान विभागको प्रमुखको रूपमा कार्यरत हुनुहुन्छ। यसअघि उनले बैङ्क नियमन विभाग, सुपरिवेक्षण विभाग, भुक्तानी प्रणाली विभाग र राष्ट्र ऋण व्यवस्थापन विभागको प्रमुख भएर काम गरी सकेका छन् । उनले लामो समय बैंकको प्रवक्ताको रूपमा समेत जिम्मेवारी समे सम्हालिसकेका छन् ।
डा. भट्टले अमेरिकाको विलियम्स कलेजबाट मास्टर्स र अमेरिकाको वयन स्टेट युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि (पिएचडी) उपाधि हासिल गरेका थिए । त्रिभुवन विश्व विद्यालयबाट मास्टर्समा स्वर्ण पदक जीतेका उनको अनुसन्धान क्षेत्र मौद्रिक अर्थशास्त्र, वित्तीय अर्थशास्त्र, र विकास अर्थशास्त्रमा केन्द्रित रहेको छ । उनले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलहरूमा अनुसन्धान लेखहरू प्रकाशित पनि गरेका छन्।
डा. भट्ट नेपाल राष्ट्र बैङ्कमा कार्यरत रहँदा विभिन्न नीतिगत निर्णयहरूमा संलग्न भएका छन्। उनले बैङ्किङ सुपरिवेक्षण, भुक्तानी प्रणाली सुधार, र मौद्रिक नीतिहरूको विकासमा योगदान दिएका छन् । डा. भट्टले नेपाल राष्ट्र बैंकको प्रवक्ताको रूपमा पनि काम गर्दा बैङ्कका नीतिहरू निर्णयहरूको बारेमा सार्वजनिक सञ्चारमा महत्त्वपूर्ण भूमिका निभाएका थिए । नेपालको मौद्रिक नीति, वित्तीय नियमन, र अन्तर्राष्ट्रिय सम्मेलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका उनी अहिलेसम्म कुनै विवादमा परेका छैनन् ।
उनी जटिल आर्थिक विषयहरू सरल भाषामा जनतासम्म पुर्याउने क्षमता राख्छन् । मुलुकको अर्थतन्त्र बुझेका भट्ट डिजिटल अर्थतन्त्र, मुद्रास्फीति नियन्त्रण, र बैंकिङ्ग सुधार जस्ता विषयका विज्ञ मानिन्छन् ।
आफ्नो कार्य र अनुसन्धानमा आधारित निष्पक्ष छवि भएका भट्टको सरकार, निजी क्षेत्र, र अन्तर्राष्ट्रिय संस्थाहरूसँग सकारात्मक सम्बन्ध, आर्थिक स्थिरताका लागि दीर्घकालीन योजना बनाउने स्पष्ट दृष्टिकोण छ । डा. भट्ट यिनै कारण र क्षमताका कारण नेपाल राष्ट्र बैंकको गभर्नर पदका लागि सबैभन्दा योग्य उम्मेदवारका रुपमा हेरिएका छन् ।उनको नियुक्तिले नेपालको वित्तीय क्षेत्रमा सुधार, स्थिरता, र प्रगतिको नयाँ अध्याय लेखिने विश्वास गरिएको छ ।