काठमाडौँ । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।पूर्वमन्त्री आलेविरुद्ध धनगढी क्षेत्रीय विमानस्थल विस्तारका लागि जग्गा खरिदमा अनियमितता गरेको भन्दै अख्तियारमा २०८१ चैत ११ गते उजुरी परेको थियो ।
उक्त उजुरी परेसँगै अख्तियारले पूर्वमन्त्री आलेमाथि छानबिन प्रक्रिया अघि बढाएको छ । आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग पूर्वमन्त्री आलेले धनगढी विमानस्थल विस्तारको जग्गा खरिदमा अनियमितताबारे परेको उजुरीका विषयमा जवाफ माग गरेको छ ।
गत २०८१ चैत २० गते आयोगले पर्यटन मन्त्रालयसँग जवाफ माग गर्ने निर्णय गरेको थियो । सोही अनुसार मन्त्रालयलाई उजुरीको विषयमा जवाफका लागि पत्र पठाएको थियो ।
अख्तियारले पत्र पठाएसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०८१ चैत २१ गते नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अख्तियारबाट प्राप्त उजुरीमा उल्लेख गरिएका विषयमा के कसो भएको हो रु सोको स्पष्ट रायरप्रतिक्रियासहित सम्बद्ध कागजात सात दिनभित्र उपलब्ध गराउन भन्दै पत्र समेत पठाएको छ ।
पूर्वमन्त्री आलेलाई धनगढी विमानस्थल विस्तारमा जग्गा खरिदमा अनियमितता गरेको भन्दै २०८१ चैत ११ गते उजुरी दर्ता भएको थियो । उजुरी दर्तासँगै पूर्वमन्त्री आलेमाथि आयोगले अनुसन्धान प्रक्रिया अघि बढाएको हो । पूर्वमन्त्री आलेले धनगढी विमानस्थल निर्माणका लागि आवश्यक जग्गा खरिदमा कम्पनी खडा गरेर जग्गा अनियमितता र करोडौँ रकम हिनामिना गरेको आरोप लागेको छ ।