काठमाडौँ । नेकपा एमाले विराटनगर महानगर कमिटीको अध्यक्षमा बलराम गिरी निर्वाचित भएका छन् । बिहीबार साँझ भएको मतदानबाट गिरी नेतृत्वको प्यानल नै विजयी भएको छ । सर्वसम्मत नेतृत्व छान्ने प्रयास असफल बनेपछि बिहीबार साँझ भएको मतदानमा ३०८ मत खसेको थियो । जहाँ ३१४ प्रतिनिधि रहेका थिए ।
अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा गिरीले १७३ मत ल्याएर विजयी हुँदा अर्का उम्मेदवार रोहित कोइरालाले १२१ मत पाए ।उपाध्यक्षमा सुरज न्यौपानेले १४५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी राम पोख्रेलले १३६ मत प्राप्त गरे । पोख्रेल विराटनगर महानगरपालिका-८ का वडा अध्यक्ष समेत हुन् ।
सचिवमा विज्ञान चापागाईंले अत्यधिक मत ल्याएर निर्वाचित भएका छन् । चापागाईंले १८३ मत ल्याउँदा निकटतम नवराज काफ्लेले १०४ मत मात्रै पाएका छन् ।उपसचिवमा हमिद आजाद निर्वाचित भएका छन् । उनले १७८ मत प्राप्त गरेका छन् भने चन्द्र शेखर विश्वासले ९८ मत मात्रै पाए ।
महिला उपसचिवमा हिमा मैनाली पोखरेल निर्वाचित भएकी छन् । कला डाँगीलाई पराजित गर्दै उनले जीत निकालेकी हुन् । पोख्रेलले १६९ मत प्राप्त गरेकी छन् भने डाँगीले १११ मत पाएकी निर्वाचन समितिले जनाएको छ ।