काठमाडौं । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षक आन्दोलनमा सहभागी शिक्षकहरूको संख्यामा उल्लेख्य वृद्धि भएको बताएका छन् । उनले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।
आन्दोलनप्रति जनाइएको उत्साहले नेतृत्वलाई थप ऊर्जा प्रदान गरेको भन्दै सबै सहभागीप्रति आभार व्यक्त गरे । ‘हिजोको सहभागिताले हामी गौरवान्वित भएका छौं,’ अध्यक्ष सुवेदीले भने, ‘यसले हामीलाई अझ मजबुत बनाएको छ । आज पनि दिउँसो ठिक १२ बजे माइतीघर मण्डलामा उपस्थित भएर हाम्रो ऐक्यबद्धता देखाऔं ।’
उनले आन्दोलन अब सफलताको नजिक पुगेको जनाउँदै यस संवेदनशील घडीमा अझ बढी अनुशासन, मर्यादा र संयमता आवश्यक रहेको उल्लेख गरे । ‘अरु केही दिन धैर्य र मर्यादित भएर लागौं । हाम्रो विजय सुनिश्चित छ,’ उनले चेतावनी दिँदै भने, ‘ ‘यदि आन्दोलन उग्र बन्यो भने त्यो आन्दोलनकै लागि घातक हुन सक्छ। त्यस्तो अवस्था ल्याउन खोज्ने तत्वहरू सक्रिय छन् , जसको अनुहार र रूप सजिलै चिनिँदैन ।’