काठमाडौँ । शिक्षकहरुको आन्दोलनका कारण सामुदायिक विद्यालयमा भर्ना अभियान प्रभावित भएको छ ।शिक्षकहरू काठमाडौँ केन्द्रित प्रदर्शनमा सहभागी हुँदा सामुदायिक विद्यालयमा शैक्षिक गतिविधि त ठप्प नै छन् अझ बढी असर भने भर्ना कार्यक्रमलाई परेको छ ।
भर्ना अभियानको समयमा विद्यालयका शिक्षक प्रदर्शनमा सहभागी हुँदा बालबालिकाको भविष्यमा नकारात्मक असर पार्ने चिन्ता एकातिर बढेको छ भने अर्कोतिर कक्षा १२ को परीक्षा र एसईईको उत्तरपुस्तिका परीक्षणसमेत प्रभावित भएको छ ।
भर्ना अभियान प्रभावित भएसँगै यस वर्ष सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या अघिल्लो वर्षको तुलनामा घट्नसक्ने अनुमान पनि गर्न थालिएको छ ।
पछिल्ला वर्षमा निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा आकर्षित भएका विद्यार्थी तथा अभिभावकलाई अहिले चलिरहेको शिक्षक प्रदर्शनका कारण निराश बनाएको छ ।
निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा भर्ना हुने तयारीमा रहेका कतिपय विद्यार्थी विद्यालयको शैक्षिक गतिविधि रोकिँदा अन्योलमा परेका छन् ।
अभिभावकलाई पनि आफ्ना बालबच्चा कहाँ लगेर भर्ना गर्ने भन्ने पीरलोले सताएको छ । विद्यालय सञ्चालन नहुदा विद्यार्थी घरमा खेल खेल्ने, मोबाइल, टिभीमा व्यस्त हुन थालेका छन् ।
यता, राष्ट्रिय परीक्षा बोर्डले फेरि एकपटक शिक्षकहरुलाई आफ्नो अधिकारको खोजी गर्दा बिद्यार्थीको अधिकारलाई हनन् नगर्न अनुरोध गरेको छ ।
बोर्डले यही बैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षा सञ्चालन र व्यवस्थापन गर्न तथा एसइईको उत्तरपुस्तिका परीक्षण गर्न आज पुनस् अनुरोध गरेको हो ।
उता आन्दोलनरत नेपाल शिक्षक महासंघले भने आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ ।नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षक आन्दोलनमा सहभागी शिक्षकहरूको संख्यामा उल्लेख्य वृद्धि भएको बताएका छन् ।
आन्दोलनप्रति जनाइएको उत्साहले नेतृत्वलाई थप ऊर्जा प्रदान गरेको भन्दै सबै सहभागीप्रति आभार व्यक्त गरे । उनले आन्दोलन अब सफलताको नजिक पुगेको जनाउँदै यस संवेदनशील घडीमा अझ बढी अनुशासन, मर्यादा र संयमता आवश्यक रहेको उल्लेख गरेका छन् ।