धनगढी। गेटा आँखा अस्पताल कैलालीका नेत्र सहायक अंकित कुमार निगम बानिया लागूऔषध सहित धनगढीमा पक्राउ परेका छन् ।
आँखा अस्पताल शाखा बाजुराको मार्तडी कार्यालयको प्रमुखसमेत रहेका बानियाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आँखा अस्पतालको मार्तडी शाखा प्रमुख बानियालाई जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार दिउँसो धनगढीको राजपुरबाट लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कवीन्द्र सिंह बोहराले नवलपरासीको पालिनन्दन गाउँपालिका–४ का २८ वर्षीय बानियालाई पक्राउ गरिएको जानकारी दिए ।
उनीसँगै प्रहरीले बाजुराको त्रिणेवी नगरपालिका–८ बस्ने २५ वर्षीय मेकेन्द्र गिरीलाई पनि लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका–१३ राजपुरमा बानियाले चलाएको लुप्रप्र ०१००१ प ९२७८ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा पछाडि सवार गिरीले बोकेको झोलाभित्र राखेको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।
गिरीले बोकेको झोलाबाट प्लाष्टिकसहित १० ग्राम र प्लाष्टिक बाहेक ८ ग्राम ८० मिलीग्राम खैरो हेरोइन बरामद गरिएको डीएसपी बोहराले बताए । दुवै जनालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।