काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया आफ्नो ६ वर्षको कार्यकाल सम्पन्न गरेर बिदाइ भएका छन्। शुक्रबार आफू पद सम्हालेको ६ वर्ष पुगेकै दिन उनी निर्वाचन आयोगबाट बिदा भएका हुन्। थपलिया २०७६ वैशाख ६ गते प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्त भएका थिए।
उनले बिदाइ कार्यक्रममा आफ्नो ६ वर्षको कार्यकालको अनुभवलाई लोकतन्त्रको सुदृढीकरण र निर्वाचन व्यवस्थापन सुधारका लागि सिर्जनात्मक चिन्तन र अनुभूतिको आत्मदर्शन गर्ने महत्वपूर्ण अवसरको रुपमा लिएको बताए।
थपलियाको बिदाइमा आयोगको सभाहलमा विशेष कार्यक्रम गरिएको थियो। यस अवधिमा प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका आवधिक निर्वाचनहरू, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रिय सभा सदस्य निर्वाचन र विभिन्न उपनिर्वाचनहरू स्वच्छ र स्वतन्त्ररूपमा सम्पन्न भई जनमतको स्वस्फूर्त अभिव्यक्तिमार्फत् लोकतन्त्रको संस्थागत सुदृढीकरणमा योगदान पुगेको उनको भनाइ थियो।
साथै उनले स्वतन्त्रताको उद्घोषसँगै सुरू भएको र समयले परिपक्व बनाउँदै लगेको नेपालको निर्वाचन जनताको अभिमतले लेखिएको लोकतन्त्रको महागाथा भएको बताए।