काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल शिक्षक महासङ्घका पदाधिकारीले शुक्रबार जारी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल गरेका छन् ।
करिब २ घण्टा चलेको छलफलमा महासङ्घको तर्फबाट चालु आन्दोलन, शिक्षक–कर्मचारीका माग मुद्दा र विद्यालय शिक्षा ऐन जारी गर्ने सम्बन्धमा आफ्ना धारणा प्रस्ट पार्ने काम भएको जनाएको छ ।भेटमा प्रधानमन्त्रीले सरकारले सम्बोधन गर्न सक्ने कुराबारे सल्लाह गरेर निर्णय लिने तथा ऐन जारी गर्न तदारुकता दिने कुरा गरेको जनाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहाचिव मदनराज जोशी सहभागी थिए।
हिजो प्रधानमन्त्री र सभामुखसँग भएका कुराकानीबारे आजको विरोध प्रदर्शनमा जानकारी गराउने महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताएका छन् । उनले सदा झैँ ठिक १२ः०० बजे माइतीघर मण्डलामा आउन शिक्षकहरूलाई आग्रह पनि गरेका छन् ।
विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुुपर्ने लगायत माग राखेर महासङ्घको आव्हानमा यही चैत २० गतेदेखि शिक्षकहरुले काठमाडौँकेन्द्रित आन्दोलन जारी राखेका छन् ।