काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले काठमाडौँका नदी सफा गर्न ठोस कार्यक्रम ल्याउने बताएका छन्।
काठमाडौँको वडा नं १० बुद्धनगरवासीद्वारा सञ्चालन गरिएको ‘सके सफा गरौँ नसके फोहर त नगरौँ’ भन्ने नारासहितको बुद्धनगर सरसफाइ अभियानको १० वर्ष पूरा भएको उपलक्ष्यमा आज आयोजित कार्यक्रममा उनले नदी सफा गर्नका लागि नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।
उपप्रधानमन्त्री सिंहले नदी सफा गर्नका लागि काठमाडौँ उपत्यका विकास प्राधिकरण, बागमती सभ्यता एकीकृत विकास समितिलगायतसँग छलफल गर्ने र लगानीको लक्ष्य र उद्देश्यअनुरूप प्रतिफल प्राप्त नभएको पक्षलाई विश्लेषण गर्न जरुरी रहेकामा जोड दिए ।
उपप्रधानमन्त्री सिंहले बुद्धनगरवासीले सानो भए पनि सकारात्मक कामलाई निरन्तरता दिएर रचनात्मक कामलाई जारी राखेको भनी अभियन्ता र सहभागीप्रति आभार प्रकट गर्दै बधाई दिए। उनले उक्त अभियानमा आबद्ध हुन सबैलाई आह्वान समेत गरे ।