धनगढी । सुदूरपश्चिममा लागुऔषध नियन्त्रण गर्न प्रमुख सचिव संयोजक रहेको समिति गठन गरिने भएको छ।प्रदेशमा लागुऔषध नियन्त्रण तथा सीमामा सहजीकरण गर्न प्रमुख सचिवको संयोजकत्वमा समिति गठनको निर्णय गरिएको हो।
सुदूरपश्चिम प्रदेशको शुक्रवार बसेको मन्त्रीपरिषद्को बैठकले दुई वटा समिति गठनको निर्णय गरेका छ। सुदूरपश्चिममा लागुऔषधजन्य गतिविधि नियन्त्रण सुपरिवेक्षण समिति र सीमापार आवागमन, पर्यटन तथा व्यापार सहजीकरण समिति गठनको निर्णय भएको हो।
लागुऔषधजन्य गतिविधि नियन्त्रण सुपरिवेक्षण समिति प्रदेशका प्रमुख सचिवको संयोजकत्वमा रहने छ। उक्त समितिमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका प्रदेश प्रमुख सदस्य रहने मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ।
सीमापार आवागमन, पर्यटन तथा व्यापार सहजीकरण समितिको संयोजकत्व पनि प्रमुख सचिवले नै गर्ने छन्। उक्त समितिमा आर्थिक मामिला मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव, कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, तीन वटै सुरक्षा निकायका प्रदेश प्रमुखहरू सदस्य रहने छन्।
उक्त समितिले राजस्व अभिवृद्धि, भन्सार चेकजाँच, सीमापार आवागमन, पर्यटन प्रवद्र्धन र रोजगारीका लागि भारत जाने नेपाली नागरिकहरूको अभिलेख व्यवस्थापन कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन कार्ययोजना तयार गर्ने बताइएको छ।