काठमाडौं । नेपाल शिक्षक महासंघले भोलिदेखि शिक्षक आन्दोलनको समय सरेको बताएको छ । शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भोलिदेखि आन्दोलन बिहान ९ बजेदेखि १२ बजेसम्म हुने जानकारी गराए ।
शिक्षकहरूले १८ दिनदेखि १२ बजेदेखि ३ बजेसम्म माइतीघर नयाँ बानेश्वर सडकमा प्रदर्शन गर्दै आएका थिए । भोलि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको समेत आन्दोलन हुने भएकाले शिक्षकको आन्दोलनको समय सारिएको अनुमान गरिएको छ । तर अध्यक्ष सुवेदीले उपयुक्त समय मिलाएको बताए ।
प्रधानमन्त्री र सभामुखसँग हिजो बेलुकी भएको छलफलपछि आज १८ औँ दिनको आन्दोलन गरेको महासंघ आज दिउँसो समिक्षा बैठकमा जुटेको थियो । बैठकले आन्दोलन थप सशक्त बनाउने निर्णय गरेको अध्यक्ष सुवेदीले बताए ।
आजको बैठकमा प्रधानमन्त्री र सभामुखसँग भएको छलफलबारे ब्रिफिङ गरिएको थियो । विद्यार्थी भर्ना अभियानमा सहभागी नभएका शिक्षकहरुका कारण कक्षा १२ को परीक्षा नै हुन नसक्ने अवस्था देखिए पछि आलोचना भए पनि शिक्षकहरु फर्कन तयार भएका छैनन् ।