काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (आइतबार) काठमाडौंको बिजुलीबजारमा प्रदर्शन गर्ने भएको छ । सामूहिक गिरफ्तारी दिएर आन्दोलन चर्काउने नीति लिएको राप्रपाले आज निषेधित क्षेत्र तोड्नेगरी प्रदर्शन गर्दैछ ।
राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार आजको प्रदर्शनमा अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी हुनेछन् । दिउँसो १२ बजेबाट सुरु हुने बताइएको छ । यसअघि बिहीबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्दा सामूहिक गिरफ्तारी दिने तयारीसहितको निर्णय गरेको हो ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरा सहित तीनकुने घटनामा पक्राउ परेकाहरूको रिहाइ मागेर राप्रपाले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।
तीनकुने घटनामा मिश्र र जबरा पक्राउ परेको भोलिपल्टै, १६ चैतबाट राप्रपाले देशभर आन्दोलनका कार्यक्रम गरिरहेको छ ।२६ चैतमा राप्रपाले बल्खुमा सभा गरेरै आफ्ना नेताहरूलाई रिहाइ र उक्त दिनको घटनाको छानबिन गर्न आयोग गठन नगरिए सशक्त आन्दोलनको चेतावनी दिएको थियो ।
यसपछि केही दिन मौन रहेको राप्रपाले दोस्रो चरणका कार्यक्रमहरू सार्वजनिक गरेको हो । दोस्रो चरणको आन्दोलनमा पहिलो दिन नै निषेधित क्षेत्र तोड्ने कार्यक्रम राखिएको छ । यता गृह मन्त्रालयले राप्रपालाई सचेत गराएको छ । आज हुने प्रदर्शनमा अराजकता फैलाए जो सुकैलाई कारबाही गर्ने गृहको चेतावनी दिईसकेको छ ।
संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने गृह मन्त्रालयले भनेको छ ।साथै, समाजमा हिंसा फैलाउने कुनैपनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत गृह मन्त्रालयले अनुरोध गरेको छ ।