काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आन्दोलन अवधिभर देशभरका सबै विद्यालय समेत बन्द गर्न आग्रह गरेको छ । एक विज्ञप्ति जारी गर्दै महासङ्घले शैक्षिक सडक आन्दोलन उत्कर्षमा पुगेकोले सबैलाई आन्दोलनमा अनिवार्य उपस्थित हुन समेत आग्रह गरेको छ ।
आन्दोलन अवधिमा विद्यालय खोल्ने, प्रवेश परीक्षा र ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण लगायतका कुनै पनि क्रियाकलापमा संलग्न नहुन पनि महासङ्घले आग्रह गरेको छ । आउँदै गरेको कक्षा १२ को परीक्षामा संलग्न नहुन समेत महासंघको आग्रह छ । यस्तै नेपाल शिक्षक महासंघले आजदेखि शिक्षक आन्दोलनको समय सारेको छ । आजदेखि आन्दोलन बिहान ९ बजेदेखि १२ बजेसम्म हुने छ । शिक्षकहरूले १८ दिनदेखि १२ बजेदेखि ३ बजेसम्म माइतीघर नयाँ बानेश्वर सडकमा प्रदर्शन गर्दै आएका थिए ।

