काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा गर्न लागेको आन्दोलनलाई मध्यनजर गरी सुरक्षा सतर्कता उच्च पारिएको छ ।काठमाडौँमा यसअघि तोकिएको निषेधित क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।
गएको फागुन अन्तिम हप्तादेखि दुई महिनाका लागि संसद भवन वरपर, सिंहदबार क्षेत्र, राष्ट्रपति र उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास बालुवाटार र भद्रकाली क्षेत्रमा निषेधाज्ञा लागू गरिएको थियो । निषेधाज्ञा लागू भएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर नारा, जुलुस, धर्ना, घेराउ, प्रदर्शन गर्न नपाइने प्रशासनले जनाएको छ ।
काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एवम् एसपी अपिलराज बोहोराका अनुसार आज बिहानैदेखि सुरक्षा अवस्था कडा पारिएको छ । त्यस्तै ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनमा आवश्यक समन्वय गरिरहेको छ । यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज गर्न लागेको प्रर्दशनमा निषेधित क्षेत्र तोडे कारबाही गर्ने गृह मन्त्रालयले चेतावनी दिएको छ ।
काठमाडौँ जिल्लाको सुरक्षा कमान्ड एसएसपी विश्व अधिकारीले गर्नेछन् । राप्रपाले प्रदर्शन अनुमति नलिएको हुनाले प्रदर्शन स्थलमा भेला भएकाहरूलाई निगरानी गर्ने र निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्नेहरूलाई पक्राउ गर्ने सुरक्षा रणनीति छ ।