काठमाडौँ। सरकारले सामाजिक सञ्जाललाई दर्ता गर्न निर्देशन दिए पनि अहिलेसम्म कुनै पनि सामाजिक सञ्जाल दर्ता नभएको पाइएको छ ।
सरकारले आज आइतबार दर्ता गर्ने अन्तिम म्याद तोके पनि कुनै पनि सामाजिक सञ्जाल दर्ता नभएका हुन् । अहिलेसम्म एउटा पनि कम्पनी दर्ता हुन नआएको सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले बताए ।
सरकारले फेसबुक, इन्स्टाग्राम, थ्रेड्ससँगै एक्स (ट्विटर), युट्युब, गुगल, लिंक्डइनजस्ता सामाजिक सञ्जाल प्लाटफर्म नेपालमा सूचीकृत (दर्ता) गर्नुपर्ने व्यवस्थासहित ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८०’ लागू गरेको छ ।
निर्देशिका लागू गरेसँगै सबै सामाजिक सञ्जाललाई सूचीकृत गर्न निर्देशन दिएको थियो । तर हालसम्म नेपालमा टिकटक, भाइबर र टिकटकसहित तीन वटा सामाजिक सञ्जाल मात्र सूचीकृत भएका छन् ।
नेपालमा सबैभन्दा धेरै प्रयोगकर्ता रहेको सामाजिक सञ्जाल प्लाटफर्म फेसबुक र म्यासेन्जरको ‘प्यारेन्ट’ कम्पनी मेटालाई सरकारले सूचीकृत हुन आग्रह गर्दै एक वर्षयता पटक–पटक पत्र पठाउँदै आएको थियो ।
सूचीकृत हुन नआउने कम्पनीलाई नेपालमा चल्न नदिने भन्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक रूपमै चेतावनीसमेत दिएका थिए । अब के साँच्चिकै बन्द हुन्छ होला त भन्ने प्रश्न उठेको छ ।