काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले युएईमा नेपाल फेस्टिभल २०२५ को उद्घाटन गरेका छन् ।
दुबईको क्रिक पार्कमा आइतबार सम्पन्न फेस्टिभलको उद्घाटन गर्दै मन्त्री पौडेलले विदेशिन बाध्य श्रमिकको स्वास्थ्य समस्या चिन्ताको विषय भएको भन्दै यसको समाधानका लागि केही कार्यक्रम ल्याइने घोषणा गरेका हुन् ।
‘‘तपाईंहरूको स्वास्थ्य तपाईं मात्र होइन हाम्रो पनि चिन्ताको विषय हो,’’ मन्त्री पौडेलले भने, ‘‘देश फर्कंदा पनि स्वस्थ भएर फर्काउन कसरी सकिन्छ भन्नेमा हामी काम गरिरहेका छौं ।’
मन्त्री पौडेलले विदेशमै रहँदा पनि टेलिमेडिसिनमार्फत नागरिकले स्वास्थ्य लाभ लिन सक्ने गरी सरकारले व्यवस्था गरेको भन्दै विदेशिने क्रममा तिर्नुपर्ने महँगो स्वास्थ्य परीक्षण सरकारी अस्पतालमै सुपथ मूल्यमा गराउने गरी गृहकार्य भइरहेको बताए ।
मन्त्री पौडेलले कार्यक्रममा नेपाल प्राकृतिक सुन्दरता र सांस्कृतिक वैभवताले भरिपूर्ण देश भएकाले मित्रराष्ट्रका विदेशी नागरिकहरूलाई कम्तिमा पनि एक पटक अवश्य नेपाल भ्रमण गर्न अनुरोध नेपालीसँग आग्रह गरे ।