काठमाडौं । एनआरएनए उच्चस्तरीय समितिले वैशाख २० गतेदेखि काठमाडौंमा हुने गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको जनाएको छ । एनआरएनए उच्चस्तरीय समितिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वैशाख २० देखि २२ सम्म तय भएको एकता महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको जनाएको हो ।
समितिले एकता महाधिवेशनमार्फत नयाँ कार्यसमिति निर्वाचित गर्नका लागि निर्वाचित समिति समेत गठन भइसकेको जनाएको छ ।निर्वाचनलाई स्वच्छ, पारदर्शी र मर्यादित बनाउनका लागि संघका पूर्वअध्यक्ष तथा उच्चस्तरीय समिति समितिका सदस्य देवमान हिराचनको संयोजकत्वमा निर्वाचन अनुगमन समिति गठन गरिएको एकता महाधिवेशन उच्चस्तरीय मूल समितिका सदस्य सचिव रबिना थापाले जानकारी दिइन् ।
एकता महाधिवेशनमा बढी भन्दा बढी एनआरएनहरूको सहभागिताका लागि निःशुल्क सदस्यताको व्यवस्था गरिएको र १६ हजार भन्दा बढिले सदस्यताका लागि आवेदन दिएको उनले बताइन् ।
लामो समयदेखि विवादमा अल्झिएको गैर आवासीय नेपाली संघ (एनआरएनए)लाई एकताबद्ध गरी एकताको महाधिवेशन गराउने जिम्मेवारी सर्वोच्च अदालतको परमादेश अनुसार प्राप्त भएपछि शेष घलेको अध्यक्षतामा एनआरएनए उच्चस्तरीय समिति गठन गरिएको थियो ।
समितिले वैशाख २० देखि २२ सम्म एकता महाधिवेशन गर्ने मिति तय गरेको हो । एकता महाधिवेशन आयोजना गर्नका लागि विभिन्न उपसमिति गठन गरी तयारीको काम तीव्र गतिमा अगाडि बढिरहेको समितिले जनाएको छ ।