काठमाडौँ । आज (मंगलबार) राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्ने भएको छ । कक्षा १२ को परीक्षाबारे निर्णय गर्न बोर्डको बैठक बस्ने भएको हो ।
बैठकले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए । बैठक बिहान ८ बजेका लागि बोलाइएको छ । शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरेर शिक्षकहरू आन्दोलनरत छन् ।
शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले माइतीघर–बानेश्वर सडक खण्डमा प्रदर्शन गरिरहेका छन् ।यसबीच सरकार र महासंघका पदाधिकारी–प्रतिनिधिबीच पटक(पटक संवाद भएपनि सहमति जुट्न सकेको छैन ।शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, १८ किसिमका शिक्षकहरुलाई एकद्वार गर्नुपर्ने लगायत उनीहरुका माग छन् ।
यता नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विद्यालय शिक्षा ऐन जारी नभएसम्म आफूहरूको आन्दोलन स्थगित नहुने बताएका छन् । त्यस कारण कक्षा १२ को परीक्षा केहि दिन पछि सर्न सक्ने आंकलन गरिएको छ ।