काठमाडौँ । नेपालका कम्युनिस्ट पार्टीहरूले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ७६औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् ।
७६ वर्षअघि २००६ साल वैशाख ९ गते भारतको कोलकाताको श्याम बजारस्थित एक घरमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । पार्टीका तत्कालीन संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र संस्थापक नेतामा नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ रहेका थिए । तर मोतीदेवी भौतिक रूपमा उपस्थित थिएनन् ।
कम्युनिष्ट घोषणापत्र जारी भएको १०२ वर्षपछि र सोभियत सङ्घमा अक्टोबर क्रान्ति सम्पन्न भएको ३२ वर्षपछि नेपाली कम्युनिस्ट आन्दोलनको स्थापना भएको थियो ।
नेपालका कम्युनिष्ट पार्टीहरूले आज विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाउँदै छन् । स्थापना दिवसका अवसरमा आज एमालेले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा साढे १२ बजे विशेष कार्यक्रम गर्ने जनाएको छ ।