काठमाडौं । सडक आन्दोलनमा जारी राखेका शिक्षकहरूले कक्षा १२ को परीक्षा बहिष्कार गर्ने निर्णय गरेका छन् । यहि बैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा सुरु हुने तालिका छ ।
राष्ट्रिय परीक्षा बोर्डले भने कर्मचारी खटाएर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरिसकेको छ। बोर्डको निर्णयपछि नेपाल शिक्षक महासंघले भने शिक्षक-प्रधानाध्यापकहरू भने परीक्षामा सामेल नहुने निर्णय गरेको हो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘सरकारले परीक्षा सञ्चालन गरोस् तर, शिक्षक-प्रधानाध्यापक भने परीक्षामा सामेल हुँदैनन् ।’
विभिन्न मागसहित शिक्षा विधेयक जारी गर्नुपर्ने मागसहित २१ दिनदेखि काठमाडौँको सडकमा आन्दोलनरत छन् । सरकारले संसद्को बजेट अधिवेशनबाटै शिक्षा विधेयक जारी गर्ने बताए पनि शिक्षकहरूले आन्दोलनलाई जारी राखेका छन् । यसैबीच शिक्षकहरूको मागलाई सम्बोधन गर्नका लागि कसरत गरिरहेकी भनिएकी शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिइसकेकी छन् । उनले सोमबार प्रधामन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएकी हुन् । उनले मन्त्री निवास समेत छोडिसकेकी छन् ।
यता राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालनमा सबै संयन्त्र प्रयोग गर्ने भएको छ । यही वैशाख ११ गतेदेखि हुने परीक्षाको व्यवस्थापन र सञ्चालनमा शिक्षक सहभागी नभए अरु संयन्त्र प्रयोग गरेर भए पनि परीक्षा सञ्चालय गर्ने निर्णय बोर्डले गरेको छ ।