काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबीच अड्किएको नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया झनै अलमलमा परेको छ ।
सरकारले नयाँ गभर्नर नियुक्ति अघि बढाउन नसकेको अवस्थामा सिफारिस समितिका एकजना सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले मंगलबार राजीनामा दिएका छन् ।
समितिका संयोजक अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिसका लागि एउटा पनि बैठक राख्न नसकेपछि भट्टराईले पद छाडेका हुन् ।मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंक ऐन, २०५८ अनुसार चैत ११ गते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गभर्नर सिफारिस समिति गठन गरेको थियो । जसमा पूर्वगभर्नर डा विजयनाथ भट्टराई र डा. विश्वनाथ पौडेल सदस्य रहेका थिए ।