काठमाडौँ । नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा केन्द्र परेको स्कुलका प्रधानाध्यापक र शिक्षकहरूलाई विभिन्न नियायबाट धम्की आउन थालेको बताएको छ ।
महासंघले एक विज्ञप्ती सार्वजनिक गर्दै प्रधानाध्यापक र शिक्षकहरूलाई राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी तथा जिल्ला प्रशासन कार्यालयका पदाधिकारीबाट परीक्षाको प्रक्रियामा सामेल हुन धम्कीसहित दबाब आएको बताएको छ ।
‘२०८२ वैशाख ११ गते शुरू हुने भनिएको कक्षा १२ को परीक्षा सञ्चालन गर्ने सम्बन्धमा केन्द्र परेको विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी तथा जिल्ला प्रशासन कार्यालयका पदाधिकारीबाट परीक्षाको प्रक्रियामा सामेल हुन धम्कीसहित दबाब आएको कुराप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’, महासंघले भनेको छ ।
त्यस्तै महासंघले उक्त परीक्षामा कुनै पनि हालतमा सहभागी नहुन प्रधानाध्यापक र शिक्षकहरूलाई निर्देशन समेत दिएको छ। ‘विगत २१ दिनदेखि काठमाडौँमा व्यापक सहभागितासहित चलिरहेको शैक्षिक सडक आन्दोलनलाई बल दिँदै विद्यालय, विद्यार्थी र शिक्षक/कर्मचारी मैत्री ऐन जारी गराउने महाअभियानलाई अघि बढाउन यो परीक्षाको प्रक्रियामा कुनै पनि हालतमा सहभागी नहुन हामी सबै प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीमा जोडदार आग्रह गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रिय परिक्षा बोर्डले आगामी बैसाख ११ गतेबाट कक्षा १२ को परिक्षा गर्ने बताएको छ । मंगलबार मात्र बोर्डले आफूहरुले जुनसुकै हालतमा भएपनि तोकिएकै समयमा बोर्ड परिक्षा गर्ने बताएको छ ।