काठमाडौं । भारत प्रशासित जम्मु कश्मीरमा एक नेपालीसहित २६ जनाको ज्यान जाने गरी भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानी नागरिकलाई भारत छाड्न निर्देशन दिएको छ । साथै पाकिस्तानसँगको सिन्धु जल सम्झौता तोड्ने निर्णयसमेत गरेको छ।
बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच निर्णयहरु गरेको हो । साथै बिहीबार सर्वदलीय बैठक समेत बोलाउने निर्णय पनि भारत सरकारले गरेको छ ।
यी हुन् भारत सरकारले गरेका पाँच ठूला निर्णय
१-भारत–पाकिस्तानबीचको सिन्धु जल सम्झौता खारेज
२-अटारी सीमानाका बन्द । भारत आएका पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र स्वदेश फर्किन निर्देशन ।
३- पाकिस्तानी नागरिकको भिसा रद्द ।
४-नयाँदिल्लीस्थित पाकिस्तान हाई कमिसनमा तैनाथ पाकिस्तानी डिफेन्स एडभाइजर्सलाई भारत छाड्न एक हप्ताको समय ।
५-हाई कमिसनमा तैनाथ कर्मचारीको संख्या ५५ बाट घटाएर ३० कायम गर्ने ।
आतंकवादी हमलामा पाकिस्तान संरक्षित आतंकवादीको हात रहेको भन्दै भारतले यी निर्णयहरु गरेको हो । पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले भने पहलगाम आक्रमणमा पाकिस्तानको कुनै पनि संलग्नता नरहेको बताएका छन् ।