बुटवल । भारत जम्मुकश्मिरको पहलगाममा आतंकवादी हमलामा परेर ज्यान गुमाएका बुटवल–११ कालिकानगरका सुदीप न्यौपानेको शव आज बिहान घर ल्याइपुर्याइएको छ । सुदीपको शव आजै त्रिवेणी घाट लगेर अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
मंगलबार दिउँसो बन्दुकधारीले गोली हानेर हत्या गरेका सुदीपको शव भारतको नयाँदिल्लीबाट लखनउसम्म हवाईमार्गबाट र त्यहाँबाट बेलहिया नाकासम्म सडक मार्ग हुँदै नेपाल ल्याइपुर्याइएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रन्जितसिंह राठौरले जानकारी दिए ।
आज (बिहीबार) बिहान सात बज्नै लाग्दा सुदीपको डेथ बडी बेलहिया नाका ल्याइएको थियो । त्यहाँबाट भारतीय पक्षले सुरक्षाकर्मीको रोहवरमा सुदीपका आफन्तलाई शव जिम्मा लगाएको थियो । त्यसपछि शव एम्बुलेन्समा राखेर बुटवल–११ कालिकानगरको मनकामनापथस्थित घरमा ल्याइएको थियो ।
२७ वर्षीय सुदीप आमा रिमाकला, बहिनी सुष्मा र ज्वाइँ युवराज काफ्ले सहित शनिबार बुटवलबाट कश्मिरको मिनी स्वीटरजल्याण्ड समेत भनिने वैसरण उपत्यकामा घुम्न गएका थिए । त्यहाँ पुगेर घुमफिरमा रमाइरहेका बेला मंगलबार दिउँसो एक्कासी बन्दुकधारी आतंकवादीले गोली हानेर सुदीपको ज्यान लिएका थिए ।
सुदीपसँगै गएकी आमा रिमाकला, बहिनी र ज्वाइँले भागेर ज्यान जोगाउन सफल भएका थिए । भाग्ने क्रममा रिमाकला सामान्य घाइते समेत भएकी थिइन् । सुदीपको शव ल्याएर आमा, बहिनी र ज्वाइँ बुटवल आएका छन् । आमाबुबाको सम्बन्ध बिच्छेद भएपछि सुदीप आमा र बहिनीसँग बुटवल–११ कालीकानगरमा बस्दै आएका थिए ।