सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान केपी ओली नेतृत्वको सरकार चौतर्फी रुपमा असफल भइसकेको बताएका छन् । असफल भइसकेको सरकार अब ढल्न मात्रै बाँकी रहेको उनको संकेत थियो ।
सिन्धुपाल्चोकको चौतारामा बिहीबार भएको वाईसिएल नेपालको पाचौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले संविधान कार्यान्वयन र व्यवस्था बचाउने सवाल, सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि, अन्तराष्ट्रिय सम्बन्ध र घरेलु समस्या जस्ता सबै विषयमा सरकार असफल भएको उनले टिप्पणी गरे ।
ओली सरकारकै कारण व्यवस्थामाथि प्रश्न उठाउँदै प्रतिगमनकारीहरु सतहमा आएको उनको ठहर थियो। माओवादी केन्द्रले २०८४ सालको चुनावसम्म सरकारमा नजाने भनेको स्मरण गर्दै उनले तर व्यवस्था माथीनै प्रश्न उठ्न थालेको सन्दर्भमा त्यसलाई बचाउन माओवादी सरकारमा जानुपर्ने अवस्था पनि आउन सक्ने उनले संकेत गरे ।