धनगढी । देशभरमा करिब ८ सय औलोका बिरामी रहेको तथ्याङ्कले देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमाडौँको तथ्याङ्क अनुसार २०८०/८१ मा देशभर ७ सय ९१ जना औलोका बिरामी रहेका छन् ।
आज देशभर विश्व औलो दिवस मनाइरहँदा देशभर रहेको यो सङ्ख्याले अझै नियन्त्रण हुन नसकेको पाइएको हो । सरकारले औलोको नियन्त्रण गर्न विभिन्न रणनीति लिएर काम गरिरहेपनि बिगत पाँच वर्षको तथ्याङ्क हेर्दा औलो नियन्त्रण हुन सकेको छैन् । यस्तै औलो रोग (मलेरिया)का बिरामी स्थानीयभन्दा आयातीत बढी भएको तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्ष २०८०–२०८१ मा ७ सय ९१ जना औलोका बिरामी थपिँदा २४ जना स्थानीय र ७७६ जना आयातीत छन् ।
आर्थिक वर्ष २०८०/८१ मा कोशी प्रदेशमा १२ ,मधेस प्रदेशमा ९१ , बागमती प्रदेशमा ९१,गण्डकीमा १६ लुम्बिनीमा ३१० कर्णालीमा ३७ र सुदूरपश्चिममा २३४ जना औलोका बिरामी रहेका छन् । यसरी हेर्दा लुम्बिनीमा सबैभन्दा बढी औलोका बिरामी रहेको तथ्याङ्कले देखाएको छ ।
यसै अवसरमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर डोटीले पनि आज शुक्रबार सरोकारवालाहरुसंग एक अन्तक्रिया कार्यक्रम गर्दै औलो बारे जानकारी गराएको हो ।
सरकारले २०३० सम्म नेपाललाई औलो मुक्त बनाउने परिकल्पना गर्दै आइरहेको छ र सोही अनुसार औलो निवारण लक्षित कार्यक्रम सङ्घ प्रदेश र स्थानीय स्तरमा सञ्चालन हुँदै आइरहेका छन् । औलो रोग सङ्क्रमित एनोफिलिज जातको पोथी लामखुट्टेको टोकाईबाट सर्दछ । नेपालमा मुख्यतय औलोका दुई किसिमका परजीवीहरू प्लाज्मोडियम फल्सिपारम र प्लाज्मोडियम भाइभेक्स पाइने गरेको छ । यीमध्ये प्लाज्मोडियम फल्सिपारमले गराउने औलो रोग बढी जटिल र जोखिमयुक्त हुन्छ ।