काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालको विनाशकारी भूकम्पको १० औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै, भूकम्पपछिको जस्तो राष्ट्रिय एकता र सहकार्य भावी दिनमा पनि कायम रहनु आवश्यक रहेको बताएका छन् ।
शुक्रबार आयोजित कार्यक्रममा उनले प्राकृतिक विपत्तिको सामना गर्न राष्ट्रिय एकता, समन्वय र पूर्वतयारी अपरिहार्य भएको भन्दै त्यस्ता विपत्तिपछिको उद्धार, राहत तथा पुनःनिर्माणमा देखिएको नेपाली जनताको साहस, सुरक्षाकर्मीहरुको योगदान र अन्तर्राष्ट्रिय मित्रहरुको सहयोगको खुलेर प्रशंसा गरे ।
प्रधानमन्त्री ओलीले भने, "हामीले पुनःनिर्माणको असाधारण क्षमता देखाएका छौँ, तर अबका दिनमा संरचना बलियो बनाउने र क्षति हुन नदिने पूर्वतयारीमै जोड दिनुपर्छ।" भूकम्पका बेला संविधान निर्माणको संवेदनशील चरण रहे पनि, राजनीतिक दलबीच देखिएको समझदारी र एकता उल्लेख गर्दै उनले भने, “त्यो बेला पक्ष–विपक्ष नभनी सबै एकजुट भयौं, यही राष्ट्रिय एकता भावी चुनौती सामना गर्न पनि आवश्यक छ।”
प्रधानमन्त्रीले प्राकृतिक विपत्तिको जोखिम न्यूनीकरणमा सुरक्षित संरचना, कानुनी सुधार, नागरिक सचेतना, पूर्वतयारी र सरकारको सक्रियता अपरिहार्य भएको बताए। साथै, आलोचना पनि तथ्य र रचनात्मक हुनुपर्ने भन्दै समाजलाई बाँड्ने झुटा प्रचारप्रति सचेत रहनुपर्नेमा जोड दिए ।