काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दिवंगत नेता मनमोहन अधिकारीको निष्ठा, आदर्श र जीवनशैलीलाई व्यवहारमा उतार्न सके जनताको राजनीतिप्रति विश्वास र भरोसा थप सुदृढ हुने विश्वास व्यक्त गरेकी छन् ।
शनिबार ललितपुरमा आयोजित मनमोहन अधिकारीको २६औं स्मृति सभालाई सम्बोधन गर्दै भण्डारीले नेता अधिकारीले नेतृत्व गरेको नेकपा एमाले सरकारलाई सामाजिक न्याय, सुशासन, पारदर्शिता र समावेशिताको दृष्टिले ऐतिहासिक र उदाहरणीय बताइन् । ‘२०५१ सालमा संसदमा सबैभन्दा ठूलो दलको हैसियतले गठन भएको नौ महिने कम्युनिष्ट सरकारले सामाजिक र आर्थिक रुपान्तरणका दृष्टिले उदाहरणीय कार्यक्रम अघि सारेको थियो,’ पूर्वराष्ट्रपतिले भनिन्, ‘आफ्नो गाउँ आफैं बनाउँ, ज्येष्ठ नागरिकका लागि वृद्धभत्ता र ‘नौ सका’ कार्यक्रमहरूले जनतालाई राष्ट्र निर्माणमा सरिक गराएको स्मरणीय छ ।’
पूर्वराष्ट्रपति भण्डारीले ती कार्यक्रमहरूको प्रभाव अझै कायम रहेको र त्यसको श्रेय मनमोहन अधिकारीको दूरदर्शी नेतृत्वलाई जाने बताइन् । साथै उनले आजको परिवेशमा अधिकारी जीवित रहेको भए, गणतन्त्रको सुदृढीकरण र समाजवादउन्मुख आर्थिक प्रणाली निर्माणमा उहाँको योगदान उल्लेखनीय हुने विश्वास पनि व्यक्त गरिन् । ‘मनमोहन अधिकारी केवल एक राजनीतिज्ञ थिएनन्, उहाँ नेपाली समाजका लागि प्रेरणाको स्रोत र आदर्श व्यक्तित्व हुनुहुन्थ्यो,’ भण्डारीले भनिन्, ‘आजको पुस्ताले उहाँबाट प्रेरणा लिएर राष्ट्र निर्माणमा सक्रिय भूमिका खेल्न आवश्यक छ ।’
कार्यक्रममा भण्डारीले मनमोहन अधिकारीको विचार र दर्शनलाई आत्मसात् गर्दै नैतिक, जनउत्तरदायी र समावेशी राजनीतिका अभ्यासमा नेताहरूले अग्रसर हुनुपर्ने आवश्यकता पनि औंल्याइन् ।