काठमाडौं । नेपालबाट विश्वमा शान्ति, मानवता र करुणा विस्तार भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
लुम्बिनीमा जारी चौंथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विश्वमा एकातर्फ अशान्ति मच्चिरहेको बेला अर्कोतर्फ नेपालको अगुवाइमा गौतम बुद्धका महत्त्वपूर्ण विचार प्रवाह भइरहेको बताए ।
उनले युद्धबाट शान्तिको सम्भावना नहुने बताउँदै भगवान बुद्धको शान्ति र शिक्षाको महत्त्व बढ्दै गएको बताए । ‘संसारमा अशान्ति मच्चिरहेको बेला बुद्धका विचारहरूको महत्व बढ्दै गएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘बुद्धका विचारहरूलाई संसारभर अघि बढाउने बेला आएको छ ।’
लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाको अध्यक्षतामा चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन भएको हो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलगायतको आतिथ्यता थियो । महोत्सवमा ४० देशका प्रतिनिधि सहभागी हुने बताइएको छ ।