काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले माओवादीहरुसँग बन्दुक नभएकाले प्रचार संयन्त्रमार्फत नै बुर्जुवाहरुसँगको लडाइँ लड्नुपर्ने बताएका छन्।
आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अहिले आफूहरुसँग बन्दुक नरहेकाले प्रचारमार्फत नै बुर्जुवाहरुसँग लड्नुपर्ने बताएका हुन्।
उनले अहिले बन्दुक चलाएर अगाडि जाने परिस्थिति पनि नभएको बताए। उनले संचार संयन्त्रमार्फत नै वैदेशिक प्रतिक्रियावाद, देशभित्रका सबै यथास्थितिवादीसँग र प्रतिगामी षड्यन्त्रका विरुद्ध लड्न आवश्यक रहेको उल्लेख गरे।
उनले भने, ‘अहिले हामीसँग बन्दुक छैन। बन्दुक चलाएर अगाडि जाने परिस्थिति पनि होइन। त्यसकारण हामीसँग अब प्रचार संयन्त्रमार्फत नै हामीले बुर्जुवाहरुसँग लडाइँ लड्नुपर्छ। प्रचार संयन्त्रमार्फत नै वैदेशिक प्रतिक्रियावादसँग लड्नुछ। देशभित्रका सबै यथास्थितिवादीसँग र प्रतिगामी षड्यन्त्रका विरुद्ध लड्नुछ। त्यसैले यो क्षेत्रलाई पार्टीले उच्च प्राथमिकतामा राखेको छ। पार्टीको यो प्राथमिकतालाई ठिक ढंगले नै बुझ्नुभएको महशुस मैले गरेको छु।’