काठमाडौँ । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दै छन् । संसद सचिवालयका अनुसार बिहान ११ बजे तथा राष्ट्रियसभा बैठक १ बजे बस्ने भएको हो ।
प्रतिनिधिसभा बैठकमा अर्थ समिति सभापति सन्तोष चालिसेले ‘भन्सार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची छ । यस्तै, कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने अर्को कार्यसूची छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यस्तै, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
यस्तै, राष्ट्रियसभा बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरूबारे जानकारी गराउने कार्यसूची रहेको छ । अध्यक्ष दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने पनि कार्यसूचीमा छ ।
राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो शंसोधन) विधेयक, २०७९’का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन विधेयक, २०८१ पेस गर्ने पनि सम्भावित कार्यसूची छ ।