वीरगन्ज । रवि लामिछानेविरुद्धको दर्ता मुद्दा पर्सा प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा पठाएको छ । बयान र अनुसन्धान सकिएपछि पर्सा प्रहरीले रास्वपा सभापति लामिछानेविरुद्ध ठगी तथा सङ्गठित अपराधको मुद्दामा कारबाहीको माग गर्दै शुक्रबार प्रहरी प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।
प्रहरीले बुझाएको प्रतिवेदनमा ४१ जनालाई प्रतिवादी बनाइएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए ।उनका अनुसार दुइवटा मुद्दाको अनुसन्धान सकिएपछि कारबाहीका लागि विभिन्न कम्पनी तथा व्यक्तिलाई प्रतिवादी बनाउँदै प्रतिवेदन अगाडि बढाइएको छ।
यी मुद्दामा ३० जना व्यक्ति, तीनवटा सहकारी र ८ वटा विभिन्न कम्पनीलाई प्रतिवादी बनाइएको पर्सा प्रहरीले जनाएको छ । २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय २९ रुपैयाँ बिगो माग दाबी गर्दै प्रहरी प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।
त्यसमा कम्पनी र व्यक्तिको उत्तरदायित्वतर्फ १ अर्ब १२ करोड ६५ लाख २६ हजार ३९५ पैसा लिनुपर्ने माग गरिएको छ । यसैगरी स्वर्ण लक्ष्मी बहुउद्देश्य सहकारी संस्थासंग १ अर्ब १५ करोड ९१ लख ४४ हजार, सुर्यदर्शन सहकारी संस्थासंग १ करोड २० लाख र आसा एण्ड इन्टरनेशनल प्रालिसंग ३७ लाख ९० हजार ३७९ पैसा फिर्ता लिनु पर्ने प्रहरी प्रतिवेदनमार्फत माग गरिएको प्रहरी प्रवक्ता लम्साल बताउँछन् ।
संसदीय छानविनको समितिले अनुसन्धान गरेर लामिछानेमाथि मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्देशन दिएपछि पर्सा प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको भन्दै लामिछानेसहितका व्यक्तिहरुमाथि मुद्दा दर्ता भएको थियो । प्रहरीका अनुसार सुरुमा ०८० सालको साउन महिनाको २१ गते ५२ जना, ०८० सालकै भदौं महिनामा २०७ जना र ०८१ सालको फागुन २ गते १७९ जनाले सानो पाइलाले रकम अपचलन गरेको भन्दै विभिन्न व्यक्तिलाई प्रतिवादी जाहेरी दर्ता गराएको थियो ।