काठमाडौं । अकस्मात् विद्युत आपूर्ति बन्द भएर सबै क्षेत्र प्रभावित बनेपछि स्पेन र पोर्चुगलमा आपत्काल घोषणा गरिएको छ। रहस्यमय रुपमा विद्युत आपूर्ति बन्द हुँदा सडक यातायातदेखि हवाई यातायातसमेत प्रभावित बनेको अधिकारीहरुले जनाएका छन्। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले विद्युत अवरोधको कारण पत्ता लाग्न नसकेको जानकारी दिए।
विद्युत आपूर्ति बन्द हुँदा दुवै देशका सब–वे प्रणालीहरु बन्द भएका छन् भने सडकमा ट्राफिक जाम भएको छ। स्पेनको गृह मन्त्रालयले अन्डालुसिया, एक्स्त्रेमादुरा, मुरसिया, ला रियोजा र म्याड्रिड लगायतका क्षेत्रमा आपत्काल घोषणा गरेको छ।
यस्तै पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले राति अबेर मन्त्रिपरिषद बैठक बोलाएर ऊर्जा संकट घोषणा गरे। पोर्चुगलको विद्युत ग्रिड सञ्चालक रेडेस एनर्जेटिकास नासियोनाइसका अनुसार मध्याह्नपछिको केही समयमा सम्पूर्ण इबेरीय प्रायद्वीप र फ्रान्सका केही भागमा विद्युत आपूर्ति पूर्ण रूपमा बन्द भएको छ।
विद्युत आपूर्ति बन्द हुनुको कारणबारे अनुसन्धान सुरु गरिएको छ। युरोपेली परिषदका अध्यक्ष तथा पोर्चुगलका पूर्वप्रधानमन्त्री एन्टोनियो कोस्टाले विद्युत अवरोधको कारण स्पष्ट नभए पनि साइबर आक्रमणको कुनै संकेत नरहेको बताउनुभएको सीएनएनले उल्लेख गरेको छ।