काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।
सर्वोच्चका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासले महामन्त्री थापासँग लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।
सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबारे टिप्पणी गरेपछि अधिवक्ताहरू विशाला थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले आइतबार सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए ।
लोकतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित ‘आजको लोकतन्त्र : अवसर र चुनौती’ विषयक संवाद कार्यक्रममा महामन्त्री थापाले संवैधानिक आयोगहरूमा गरिएको नियुक्ति र त्यसविरुद्ध परेको रिटमाथि भइरहेको अदालती कारबाहीबारे टिप्पणी गरेका थिए ।