कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकाले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई १० बुँदे ज्ञापनपत्र बुझाइएको छ । नगरपालिका भित्रका विभिन्न समस्याहरू समेट्दै नगर प्रमुख तोय प्रसाद शर्माले प्रचण्डलाई ज्ञापन पत्र बुझाएका हुन् ।
मंगलबार साँझ ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ अन्तर्गत पुनर्वास पुगेका प्रचण्डलाई नगरपालिकाको बिच भागमा रहेको ६५ बिघा क्षेत्रमा भारत सरकारको सहयोगमा प्राविधिक शिक्षालय (आई टी कलेज) स्थापना गर्न आवश्यक पहल गरिदिन, सघन सहरी पूर्वाधार कार्यक्रम लागु गराउनका लागी आवश्यक पहल, नगरपालिकाको अधिकांश भू–भाग भारत सँग सिमाना जोडिएकाले सीमा विवादको कारण पटक पटक भारतीय प्रहरी सँग विवाद भई गोविन्द गौतमले सहादत समेत प्राप्त गर्नुपरेको ब्यहोरा अवगत गराउँदै कूटनीतिक तवरले सीमा समस्याको समाधान गर्न माग गरिएको छ ।
यस्तै खेलकुद रङ्गशाला निर्माणका लागी नगरपालिकाले डी पी आर सहित नेपाल सरकार समक्ष पटक पटक माग गरिएको तर हालसम्म सुनुवाइ नभएको हुँदा सोका लागी आवश्यक पहल, धनगढी उपमहानगरपालिकाको सिमाना डोकेबजार देखी बेलौरी नगरपालिकाको सिमाना सम्म सडक बत्ती जडान गर्न,सुकुम्वासी समस्या समाधानका लागी राष्ट्रिय आवास कम्पनीको नाउँमा फिल्ड बुक कायम भएको जमिनको कारण नीतिगत समस्या भएकोले उक्त समस्या समाधानका लागी आवश्यक पहल गरिदिन अनुरोध गरिएको छ ।
यस्तै धनगढीमा अवस्थित त्रिनगर भन्सारको बेरियलका कारण कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नं. १ का ४ वटा पालिका पुनर्वास, बेलौरी , बेलडाँडी र लालझाँडीका बासिन्दाहरूलाई आवतजावत गर्नका लागी र स्थानीय उत्पादनको बजारीकरण गर्न बाधा हुने गरेकाले आवश्यक सहजीकरण, पुनर्वास–६ बराल चोक देखी नगरपालिका हुँदै वडा न. ५ पशुपति चोक सम्म ४ लेनको सडक निर्माणका लागी आवश्यक बजेट विनियोजन गर्न, नगरपालिकाको वडा नं. ९ स्थित भारतको सीमा सँग जोडिएको सामरिक महत्वको प्याराताललाई बाह्य पर्यटकको समेत आकर्षणको क्षेत्र बनाउनका लागी पूर्वाधार निर्माणका लागी पहल गर्न र दोदा नदी तटबन्ध लगायतका योजना नेपाल सरकारका विभिन्न मन्त्रालयमा लागत अनुमान सहित पेस गरिएको हुँदा बजेट सहित आगामी आर्थीक वर्षमा स्वीकृत गराउनका लागी पहल गरी यस पुनर्वास नगरपालिकाको विकास र संवृद्धिमा सहयोग गरिदिनुहुन अनुरोध गरिएको छ ।