काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । आज नै जनमत पार्टी र नाउपाको पार्टी एकता घोषणा कार्यक्रम थियो । उनलाई त्यहीँबाट पक्राउ गरिएको हो ।
प्रज्ञा भवन कमलादी परिसरबाट सादा पोशाकमा रहेका प्रहरीले नियन्त्रणमा लिएर डिल्लीबजार कारागार पुर्याएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले फैसला कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरिएको जानकारी दिए ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको दिन चौधरीलाई बाँकी कैद मिनाहा गरिदिएका थिए । राष्ट्रपतिको सोही निर्णयविरुद्ध टीकापुर घटनामा मृत्यु भएका सशस्त्र प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले सर्वोच्चमा रिट दर्ता गराएकी थिइन् । टीकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए ।