काठमाडौँ, १४ फागुन – भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले महानगरप्रमुखले कार्यपालिका बैठक सञ्चालनमा आफूसँग समन्वय नगरेको आरोप लगाएकी छन्। उनले कार्यपालिका बैठकमा एकलौटी एजेन्डा ल्याउने गरिएको आरोप लगाएकी हुन्। उपप्रमुख ठकुरीले मंगलबार पत्रकार सम्मेलन गरी आफूले जिम्मेवारी निर्वाह गर्दा आइपरेका समस्या र महानगरपालिकाको अवस्थाबारे जानकारी गराइन्। उनले भनिन्, “कार्यपालिका बैठकमा ल्याइने एजेन्डा एकलौटी तरिकाले ल्याउने गरिएको छ, समयमा जानकारीसमेत हुँदैन, एजेन्डामा कुनै बिमति राख्दा ‘महानगर प्रमुखले चलाउने हो, तपाईंले होइन’ जस्ता शब्द प्रयोग गर्ने गरिएको छ।” महानगरमा लेखा समिति गठन नगरी अनियमितता बढेको, जिन्सी समिति गठन नगरिएको, महत्त्वपूर्ण समिति एकलौटी ढङ्गले गठन गरेको, आस्था र विचारका आधारमा कर्मचारीलाई दुःख दिने काम गरिएको उनले अरोप लगाइन्। स्थानीय सरकार सञ्चालन ऐनमा प्राप्त उपप्रमुखको अधिकारलाई प्रयोग गर्न प्राविधिक तथा कर्मचारी महानगरले पर्याप्त नदिएको पनि उनले गुनासाे गरिन्।