काठमाडौँ । नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य अर्जुन बमले संघको १२औँ महाधिवेशनमा ३२ वर्ष मुनिका नेताहरूको तदर्थ समिति बन्नुपर्ने बताएका छन्। नेपाली पब्लिकसँगको कुराकानीमा उनले भने, ‘संघको ११औँ महाधिवेशनपछि लागू भएको विधानअनुरूप तदर्थ समिति बन्नुपर्छ। त्योभन्दा माथिका नेताहरू आएर संघको विधानलाई चुनौती दिने काम गर्नु गैरराजनीतिक चरित्र हो।’
उनले अगाडि भने, ‘संघको महाधिवेशन त हुनैपर्छ। यसरी नेविसंघलाई अनिर्णयको बन्दी बनाइराख्नु न त संघलाई फाइदा हुन्छ, न त कांग्रेसलाई नै। त्यसैले त म भन्छु, पार्टी नेतृत्वले सहमति गरी उचित समय तोेकेर सम्पूर्ण काम सक्ने गरी तदर्थ समिति गठन गरोस्। कुनै व्यक्तिको फाइदा र घाटा, नजिक र टाढाको आँखाले नहेरियोस्, संघ र पार्टीको भविष्य सम्झेर तदर्थ समिति बनाइयोस्।’
संघको वर्तमान विवादको मुख्य कारण के हो? भनेर सोधिएको प्रश्नको जवाफमा निवर्तमान केन्द्रीय सदस्य बमले भने, ‘बाहिर हेर्दा ३२ वर्षमुनि र ३२ वर्षमाथिका नेताहरूको बीचमा लडाइँ चलिरहेको जस्तो देखिन्छ। तर, खासमा कुरा अर्कै छ। पार्टी नेतृत्वको असक्षमताका कारण नेविसंघमा यो विवाद सिर्जना भएको हो। पार्टीले ३२ वर्ष माथिका नेविसंघका नेताहरूलाई सेटल गर्न सक्छ। त्यो सम्भव छ। पार्टीका धेरै विभाग खाली छन्।’
तदर्थ समितिले पनि महाधिवेशन गर्न सक्दैन !
निवर्तमान केन्द्रीय सदस्य बमले पार्टी नेतृत्वको स्वार्थका आधारमा चयन गरिने तदर्थ समितिले ६ महिना या ९ महिनाभित्र १२औँ महाधिवेशन सम्पन्न गर्न नसक्ने बताएका छन्।
उनले भने, ‘पार्टीको नेतृत्वले केवल आफ्नो भविष्य, व्यक्तिगत स्वार्थ र गुटको खेती गर्न थाल्यो। प्रतिस्पर्धी जमाना छ। युवा पुस्तालाई यसरी दुरुपयोग गरेर नेतृत्वले के गर्न खोज्या हो? जसरी आज तदर्थ समितिले संघको महाधिवेशन गर्छ भनिएको छ, यो गलत हो। गुटका आधारमा नयाँ र पुराना नेताहरूलाई मिलाएर तदर्थ समिति बनाएर त्यसैलाई ६ महिना-वर्ष दिन धकेल्ने देखिन्छ। यसरी संघको भविष्य सुन्दर हुँदैन।’
नेतृत्वप्रति यति धेरै शंका किन गर्नुहुन्छ नि? भनेर सोधिएको अर्को प्रश्नको जवाफमा उनले भने, ‘पार्टी नेतृत्वप्रति मेरो श्रद्धा छ, सम्मान छ, मैले कुनै पनि नेताको व्यक्तिगत टिप्पणी गरेको होइन, प्रवृत्तिको कुरा गरेको हुँ, वर्तमान नेतृत्व आफू त बरालियो–बरालियो, नयाँ पुस्तालाई समेत नराम्रोसँग बिगार्न उद्यत छ, मेरो विरोध यस कुरामा हो। दूर भिजन र दृष्टिका साथ काम गर्नुपर्छ, हामीले तत्कालको स्वार्थ हेरेर कदम नउठाऊँ भन्ने मेरो मान्यता हो।’
स्वार्थरहित तदर्थ समितिको पक्षमा
निवर्तमान केन्द्रीय सदस्य बमले नेविसंघका बारेमा पार्टीले समयमै उचित निर्णय लिनुपर्ने बताए। उनले भने, ‘पार्टी नेतृत्व गैरजिम्मेवार बन्दैछ, अलि पहिले गरिएको सहमतिहरू तोड्ने, पार्टीभित्र बहुमत सदस्यले गरेका निर्णयहरू खारेज गर्ने, हुँदाहुँदा नेविसंघको विधानलाई समेत कुल्चिन पुग्ने अवस्था आउनुमा पार्टी नेतृत्वको ठूलो गद्दारी हो।’
उनले भने, ‘अब बन्ने तदर्थ समिति गुटको नभएर सिंगो संगठनको भलाइका निम्ति बन्नुपर्नेछ। यो मौका गुम्ने खतरा पनि त्यति नै छ। निःस्वार्थ रूपमा जो आए पनि, जुन नेता भए पनि कांग्रेसकै हो, नेविसंघकै हो भन्ने बुझ्नुपर्छ। कुनै गुटको भन्दा पनि नेविसंघ र नेपाली कांग्रेसको नेता बन्नसक्नु आजको आवश्यकता हो।’
मैले निर्वाचित नेविसंघको नेतृत्वले नै १२औँ महाधिवेशन सम्पन्न गर्नुपर्छ भन्दै आएको थिएँ। अर्को कुरा गत साउनमा कार्यकाल सकिएपछि पहिलो पटक थपिएको समय अपुग हुन्छ, समय थप्ने नै हो भने ६ देखि ९ महिना थपौँ भन्ने व्यक्ति पनि म नै हुँ, संगठनमा मेरो कुरा सुनिएन, आजको स्थिति आउँछ भन्ने कुरा मैले त्यही समयमै भनेको थिएँँ।’
उनले अघि थपे, ‘अब बन्ने तदर्थ समितिलाई ६ महिना समय दिएर महाधिवेशन गर भन्ने हो भने त्यो पनि उपयुक्त समय र निर्देशन हुँदैन, हामीले १९ जिल्लामा अधिवेशन सम्पन्न गरेका छौँ, ४० जिल्लामा पूर्ण तयारी छ, बाँकी जिल्लामा पनि सम्पन्न हुन्छ, त्यसको लागि कम समयले पुग्दैन।’
तपाईं तदर्थ समितिमा नबस्ने? भनेर सोधिएको प्रश्नमा उनले भने, ‘म आजका दिनसम्म कुनै नेताको ढोकामा पुगेको छैन, जानेवाला पनि छैन, तँ पनि बस्नुपर्छ आइज भनेको खण्डमा जान सक्छु, त्यो पनि संगठनको हितमा काम गर्नलाई जाने हो।’
आगामी नेतृत्व अनिश्चित
नेता बमले संघको भविष्यमाथि पार्टी नेतृत्वले खेलाँची गरेको आरोप लगाए। उनले भने, ‘राजनीतिमा सब कुरा सम्भव हुन्छ, राजनीति सम्भावनाको खेल हो। हाम्रो स्कुलिङ पनि यही हो। आगामी ६ देखि ९ महिनाभित्र महाधिवेशन भयो भने म पनि नेतृत्वका लागि मैदानमै हुनेछु। तर, त्योभन्दा पर धकेलियो भने मलाई पनि उमेरले छेक्छ।’
उनले अगाडि भने, ‘त्यसपछि त के कुरा भयो र ? म विधि र विधानबाट आएको व्यक्ति हो, आगामी दिनमा पनि त्यसको निरन्तरता हुन्छ। संघको महाधिवेशन अनिश्चित बनेको हुँदा मेरो अपेक्षा र दाबी पनि त्यत्तिकै अनिश्चित छ।’
स्ववियु निर्वाचनले संघलाई क्षति
निवर्तमान केन्द्रीय सदस्य बमले नेविसंघको आन्तरिक विवादले स्ववियु निर्वाचनमा ठूलो क्षति बेहोर्नुपर्ने बताएका छन्। उनले भने, ‘कांग्रेसको नर्सरीका रूपमा रहेको नेविसंघले आगामी स्ववियु निर्वाचनमा ठूलो क्षति बेहोर्नुपर्ने देखिन्छ, पार्टी नेतृत्वले आफ्नो व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर नेविसंघभित्र पनि स्वार्थ प्रवेश गराउने र संघका नेताहरूले पनि संगठनको भन्दा पार्टी नेताको स्वार्थमा चल्ने गर्नाले आजको विवाद शुरु भएको हो।’
कांग्रेसले स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा हार बेहोर्नु परेको कुरालाई संघका नेताहरूले पनि स्मरण गर्नुपर्ने नेता बमको भनाइ छ।